काठमाडौं । नेपालीहरुको महान चाड दशैँ नजिकिदै आइरहदा काठमाडौँबाट घर फर्कनेहरु धमाधम टिकट लिइरहेका छन् ।
काठमाडौँबाट बाहिरिन तथा भित्रिन प्रयोग हुने मुख्य नाका नागढुंगा–पिपलामोड सडक खण्ड भने बन्द गरिएको छ । यो सडकखण्ड अबको एक सातासम्म रातिको समयमा बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौ २ ले सडक मर्मत तथा सुधारका लागि भन्दै असोज १५ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म यो सडक खण्डमा सवारीसाधन चल्न रोक लगाएको हो ।
डिभिजन सडक कार्यलयले उक्त समयमा सवारी व्यवस्थापन गरिदिन आग्रह गर्दै ट्राफिक व्यवस्थापन गरिदिनकालागि ट्राफिक प्रहरीलाई समेत पत्र पठाएको थियो ।
सोहीअनुसार ट्राफिक प्रहरीले गएराती सो सडक हुँदै सवारी साधन आवतजावतमा रोक लगाएको थियो । बिहान ५ बजेपछि सडक खुल्ला गरिएसँगै धादिङ्ग–नागढुङ्गा र थानकोट–कलंकी हुदै चल्ने सवारी साधन चापमा चलिरहेको ट्राफिक प्रहरी महाशाखाको भनाइ रहेको छ ।
रातको समयमा धादिङ्ग र थानकोट क्षेत्रमा रोकिएका सवारी साधन बिहान ६ बजे बाट मात्रै सुचारु हुँदा धादिङ देखी कलंकीसम्म सवारी चापको अवस्था सृजना भएको महाशाखाको भनाई छ । उक्त सडक खण्डको मर्मतको जिम्मा कृष कन्ट्रक्सनले लिएको छ । यो सडक हुँदै दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस