रित्तो ट्यांकरमा लुकाएर भारत लैजादै गरेको २९५ किलो गाँजा बरामद

मंगलबार, १६ असोज २०७५, १७ : १४
रित्तो ट्यांकरमा लुकाएर भारत लैजादै गरेको २९५ किलो गाँजा बरामद

फाईल फोटो

काठमाडौं । रित्तो इन्धनको ट्याङकरमा राखेर भारततर्फ लैजान लागेको ठुलो परिमाणको गाँजा सहित ट्याङकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
२ सय ९५ किलो गाँजाको चिप्पडलाई तस्करहरुले मकवापुरबाट रौक्सौल हुँदै भारत लैजान खोजेका थिए ।
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारबाट गाँजाको चिप्पड बरामद गरेको हो । ट्यांकर चालक प्रल्हाद ठकुरी बाराको जितपुर सिमरा उप–महानगरपालिका–२२ स्थायी बासिन्दा हुन् ।
‘मंगलबार बिहान करिब ५ बजे ना.४ ख ३९६९ नम्बरका ट्यांकर रोकेर चेकजाँच गर्ने क्रममा २९५ किलो गाँजाको चिप्पड फेला परेको छ’ लागु औषध नियन्त्रण ब्यूरोका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘चिप्पड सहित हामीले  ट्यांकर चालकलाई नियन्त्रणमा लिएका छौं ।’
प्रहरीले बरामद गरेको गाँजा चितवन र मकवानपुरका विभिन्न स्थानहरुमा उत्पादन भएको बताइएको छ । एसएसपी पोखरेलका अनुसार बरामद गरिएको चिप्पडको बजार मूल्य करिब ४५ लाख हुन आउँछ ।
गाँजा तस्करहरुले तेलको ट्यांकरमा लुकाएर मकवानपुर हुँदै भारतिय सिमावर्ती बजार रक्सौलम्म लगेबापत ४० हजार कमिशन पाउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस