तीनपाङ्ग्रे सवारीचालकको आन्दोलन फिर्ता, महानगरसँग भयो सातबुँदे सहमति

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १६ : १७
तीनपाङ्ग्रे सवारीचालकको आन्दोलन फिर्ता, महानगरसँग भयो सातबुँदे सहमति

चितवन । भरतपुर महानगरभित्र राजमार्गमा सवारी चलाउन पाउनु पर्ने माग गर्दै केही दिनयता आन्दोलन गरिरहेका तीनपाङ्ग्रे सवारीचालकको आन्दोलन फिर्ता भएको छ । भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले सातबुँदे निर्णय गरेपछि तीनपाङ्ग्रे सवारीचालकको आन्दोलन फिर्ता भएको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले गोन्द्राङबाट टाँडी, पोखरा बसपार्कबाट रामनगर, गणेशस्थान र बसेनीबाट आँपटारीहुँदै देवघाट, पुलचोक तिरुपति होटलनजिकको गल्लीबाट गैंडाकोट जान आवागमन सहज पार्ने निर्णय गरेको छ । नयाँ म्याजिक, अटो र ईरिक्सा लगायतका सवारी साधनलाई महानगरमा संचालन हुने गरी थप नगर्नेतर्फ भएको निर्णयलाई अनुगमन गरी प्रभावकारी कार्यान्वयन गर्ने निर्णय समेत भएको छ ।

यसैगरी, पूर्वपश्चिम राजमार्गलाई गोन्द्राङबाट पुलचोकसम्म ६ लेनको बनाएपछि एउटा सर्भिस लेन म्याजिक र अटो लगायतका साना सवारीसाधनलाई उपलब्ध गराउने भनी निर्णयमा उल्लेख छ । बैठकले आवश्यक कागजपत्र नभएका सवारी साधन र चालकलाई कडाईका साथ कारबाही गर्ने निर्णय समेत गरेको छ ।

रात्रिकालीन समयमा सवारी संचालन सम्बन्धमा थप छलफल र अध्ययन गरी कार्यान्वयन गरिने एवं अटोलाई महानगरमा दर्ता गर्ने सम्बन्धमा आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ । सरोकारवालाहरुको बैठकले म्याजिकलाई प्रभावकारी व्यवस्थापन गर्न आवश्यक पहल गर्ने, महानगर क्षेत्रभित्र यातायात व्यवस्थापनलाई थप व्यवस्थित गर्न आवश्यकता अनुसार छलफल र अध्ययनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

बैठकमा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारी, प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी, वडा अध्यक्षहरु जयराम श्रेष्ठ, पदमपाणि सुवेदी, चन्द्रमित्र पण्डितको उपस्थिति रहेको थियो । यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अनक मगर, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मणप्रसाद भट्टराई, टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतम लगायतको बैठकमा उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस