दसैँ साह्रै महँगो : बढ्यो खाद्यवस्तुको भाउ !

आइतबार, १४ असोज २०७५, १४ : ४८
दसैँ साह्रै महँगो : बढ्यो खाद्यवस्तुको भाउ !

चितवन । दसैँको घटस्थापनाको दिन आउन अब १० दिनमात्र बाँकी छ । बजारमा दसैँको चहलपहल सरु हुन थालेको छ । मानिसहरु किनमेलको लागि बजार आउजाउ गर्न थालेका छन् । मानिसहरु दसैँको खर्चको जोहो गर्न थालिसकेको छन् । 
दसैँको व्यापार छोप्न व्यवसायीहरु लागि परेका छन् । कम्पनीहरुले विभिन्न स्कीमहरु दिएर प्रचार गर्न थालेका छन् । गाउँगाउँमा पिङहरुको लहर सुरु हुन थालेको छ । तर बजार महँगीले थलिएको छ ।  
भरतपुर १२ की मनिसा उप्रेतीले दसैँको मुखमा चर्को महँगीले ढाड सेकिएको बताइन् । उनले भनिन्, ‘अति आवश्यक खाद्य वस्तु चिनी, तोरीको तेलको भाउ बढेको सुनेको छु, साह्रै गाह्रो हुनेभयो । 
दसैँजस्तो ठूलो चाड मुखमा आइसक्यो, खाद्यान्नको भाउ पनि बढिरहेको हुनाले यस वर्षको दसैँ साह्रै महँगो हुने उनको भनाइ थियो । त्यस्तै, भरतपुर १० की विन्दु पौडेलले दसैँको चर्को भाउले तर्साएको बताइन् । उनले खाद्यवस्तुको मूल्य बढ्दा साह्रै दुःख लागेको बताइन् । 
उनका अनुसार दसैँको मुखमा ढाड भाँच्ने गरी महँगी बढ्दा सर्वसाधारण मर्कामा परेका छन् । सामान्य कमाइ हुने मानिसहरुको समेत महँगीले ढाड भाँचेको छ, निम्न आयस्रोत हुने मानिसहरुको अवस्था त झन् के होला ? उनले भनिन् । किराना व्यवसायी संघ चितवनले दसैँको मुखमा चिनी, तेल र पिठोको मूल्य बढेको जनाएको छ । व्यवसायी संघका अनुसार दसैँको मुखमा केही खाद्य वस्तुको मूल्य बढेको र केहीको घटेको छ ।
चिनीको खुद्रा मूल्य प्रतिकेजी ६८ बाट ७० रूपैयाँ पुगेको छ । तोरीको तेलमा खुद्रा प्रतिलिटर १६० बाट १७० पुगेको छ । पिठो प्रतिकेजी ५० बाट ५५ रूपैयाँ पुगेको छ । खाद्यान्नको मूल्य वृद्धिको विषयमा किराना व्यवसायी संघका कार्यसमिति सदस्य सन्तोष श्रेष्ठका अनुसार उद्योगले नै शुद्ध गुणस्तरीय तोरीको तेल भन्दै मूल्य बढाएर पठाएको छ, त्यसैले पनि यहाँ भाउ बढेको हो ।
‘चिनी, तेल, पिठोमा भाउ बढेको हो, अन्य खाद्य वस्तुमा भाउ बढेको छैन’, किराना व्यवसायी संघका महासचिव रवीन्द्रकुमार श्रेष्ठले भने, ‘गत वर्षको दसैँको तुलनामा यसवर्ष केही खाद्य वस्तुमा भाउ घटेको पनि छ ।’


 

प्रतिक्रिया दिनुहोस