निर्मला बलात्कार हत्या प्रकरण : एसपी विष्टसहित तीनैजनाको डीएनए मिलेन

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०७५, १० : ५८
निर्मला बलात्कार हत्या प्रकरण : एसपी विष्टसहित तीनैजनाको डीएनए मिलेन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए रिपोर्ट सार्वजनिक भएको छ ।  तीनैजनाको डीएनए रिपोर्ट पन्तको ‘भेजिनल स्वाव’  मेल खाएको छैन ।
एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो । 

कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन । 
निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितीको सुझावपछी गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परिक्षण गर्न निर्देशन दिएका थिए । मन्त्रिको आदेशपछी तिनै जनाको नमुना संकलन गरेर त्रिवी शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधीविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परिक्षण गरेका थिए ।  
 ‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘काठमाडौंबाट पठाईएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’ 
एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।
साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस