काठमाडौं । स्वीट्जरल्याण्डको भ्रमण सकेर संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा.फ्रैंक वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ ।
राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ । उनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका छन् ।
राष्ट्रपति पौडललाई बर्लिनमा आज जर्मन सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिने छ । नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् । तर, सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबिचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।
यसैगरी, तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनीको भ्रमण गरेका थिए ।
यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका छन् ।त्यस्तै जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केले सन १९६७ र राष्ट्रपति प्रा. रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए । जर्मन संसदकी उपाध्यक्ष क्लाउडिया रोथले अप्रिल २०१७ मा नेपाल भ्रमण गरेका थिए ।
टोबियास फ्लुगरको नेतृत्वमा जर्मनीको संसदीय प्रतिनिधिमण्डलले सन् २०१९ मार्च १ देखि ५ सम्म नेपालको औपचारिक भ्रमण गरेको थियो। जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डरले फेब्रुअरी २०२० को पहिलो साता युनिसेफको संरक्षकको हैसियतमा नेपाल भ्रमण गरेका थिए ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन गत जेठ ३० वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा छन् । उनी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असार २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेल जापानमा
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
‘मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल बागलुङमा