घोराही (दाङ) । दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । जेठको चर्को घाममा पनि उहाँ मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । उहाँले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आउनुभएको हो ।
हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उहाँलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताउनुभयो । “प्रतिगोटा रु २५ ले बेच्दा रु १० फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु चार÷पाँच सयसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । यही कामबाट भएको आम्दानीले आफूसहित पाँच जनाको जीविकोपार्जन भइरहेको उहाँले जानकारी दिनुभयो ।
घर्तीले भन्नुभयो, “उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएको छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउँने हुँदा खुसी लाग्छ ।” सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा रु दुई÷चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उहाँको अनुभव छ ।
गर्मीको समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट हुनुहुन्छ । उहाँ बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जानुहुन्छ भने दिउँसो २ बजेपछि घोराही–१५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडक छेउमा मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । दैनिक रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।
घर्तीजस्तै घोराही–१८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ । ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताउनुभयो । लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उहाँको भनाइ छ ।
“उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन । अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु । आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु”, उहाँले भन्नुभयो, “मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ ।”
आजभोलि दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताउनुभयो । आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उहाँको अनुभव छ । दैनिक ६०/६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उहाँले रु १५ सयदेखि दुई हजारसम्मको कारोबार हुने जानकारी दिनुभयो ।
पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिनुभएका घोराही–१५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गर्नुभयो । आफू पनि हरेक दिन खाजा खाने समयमा उहाँले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उहाँले बताउनुभयो । यति धेरै गर्मीको समयमा पनि उहाँहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ जेठ २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकैमा फौजी कीराको समस्या, विषादी अभाव
चितवनको मकैमा अमेरिकन फौजी कीराको संक्रमण
मकैमा फौजी कीराको समस्या, किसान चिन्तित
कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन