प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेको बचाउमा लागे : बृहत् नागरिक आन्दोलन

सफल खबर संवाददाता

सोमबार, १४ जेठ २०८१, ०९ : १९
प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेको बचाउमा लागे : बृहत् नागरिक आन्दोलन

काठमाडौ । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रवि लामिछानेको बचाउमा लागेको आरोप लगाएको छ। 

नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै आफूले दुःखजिलो गरी कमाएको रकम सहरकारी संचालकहरुबाट व्यापक हिनामिना भएपछि सर्वसाधारण जनता न्याय माग्न सडकमा उभिन थालेकोबेला देशको राजनीतिमा व्याप्त गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकार भने सहकारीकै वचत अपचलनको आक्षेप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने विपक्षीको मागलाई आलटाल गर्दै संसद्लाई मुठभेडको थलो बनाउन उद्यत हुनु आपत्तिजनक छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय मुद्दाहरु सम्बोधन गर्नबाट संसद्लाई बिमुख गर्ने, यसलाई अक्षम र अवरोधक बनाउने कुनै पनि गतिविधिप्रति सावधान रहन सत्ता पक्ष र विपक्षी सबै दललाई हामी सचेत बनाउन चाहन्छौँ।’

नागरिक आन्दोलनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्री लामिछानेले ‘पहिलो समात, अनि प्रमाण जुटाऊ’ शैलीमा गिरफ्तार गरेको आरोप पनि लगाएको छ। 

‘यो गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरुपयोग गरेको प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेसलाई अवान्छित दबाव र त्रासमा पार्न कान्तिपुरका प्रकाशकमाथि प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षणप्रति सरकारको उदासीनताले हाम्रो सन्देह बढाएको छ।’

प्रतिक्रिया दिनुहोस