आज राष्ट्रिय क्यान्सर सतर्कता दिवस

‘क्यान्सरबाट डराउनु पर्दैन, शतर्कचाहिँ हुनै पर्छ’

सूर्यप्रकाश कँडेल

बुधबार, १० असोज २०७५, १२ : ०६
‘क्यान्सरबाट डराउनु पर्दैन, शतर्कचाहिँ हुनै पर्छ’

चितवन । नेपालका विभिन्न जिल्लाबाटमात्र नभई भारतका सीमावर्ती ठाउँबाट समेत क्यान्सर रोगको उपचारका लागि बिरामीहरु चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गर्छन् । यही अस्पतालमा डेढ दशकदेखि विशेषगरी बालबालिकालाई हुने क्यान्सर रोगको उपचारमा आफूलाई समर्पित गरेका छन् बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले । क्यान्सर अस्पतालमा एघारौँ तहको कन्सल्टेण्टका रुपमा कार्यरत डा. शर्मा बाल क्यान्सर युनिटका प्रमुख हुन् । २०६४ सालमा क्यान्सर अस्पतालभित्र बाल क्यान्सर युनिट स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका डा. शर्मा क्यान्सर रोगको निदान र उपचार सम्भव भएकोले यस रोगसँग डराउनु नपर्ने बताउँछन् । दैनिक आहार, विहारमा ध्यान दिएर क्यान्सर नहोस् भन्नेतर्फ सचेतचाहिँ हुनैपर्ने उनको भनाइ छ ।
बाग्लुङ जिल्लाको पैयुँ थन्थापमा २०३२ साल माघ महिनामा जन्मिएका डा. शर्मा आमा जानकीदेवी र बुबा टीकारामका चार जना छोरामध्ये माहिला हुन् । बुबा टीकारामले स्थापना गरेको पैँयु थन्थाप ४ मा रहेको कोलपाखा प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरेका डा. शर्माले पैँयु थन्थाप ६ मा रहेको जनता निम्न माध्यमिक विद्यालयहुँदै बाग्लुङको सर्कुवा गाविसमा रहेको श्री जनता माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरे पहिलो श्रेणीमा । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसबाट २०५१ सालमा आईएस्सीको पढाई पूरा गरेका डा. शर्माले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको मेडिकल कलेजबाट २०५४ सालमा मेडिकल ल्याब टेक्नोलोजीको पढाई पूरा गरे । त्यही समयमा अमृत साइन्स कलेजमा बीएस्सी केमेस्ट्रीको अध्ययन समेत अगाडि बढाएका डा. शर्माले त्यसलाई बीचैमा छाड्नु प¥यो ।


चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजको पहिलो ब्याचका एमबीबीएस विद्यार्थी डा. शर्माले २०५८ सालमा एमबीबीएसको पढाई पूरा गरे । खुल्ला प्रतिस्पर्धाबाट छानिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाल तथा युवा रोग विषयमा २०६४ सालमा एमडी तहको पढाई पूरा गरे । २०५९ सालमा एक वर्ष भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजको आईसीयु र इमर्जेन्सीमा कार्यरत डा. शर्माले २०६० सालमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गरे । २०६६ सालमा जापानको नेशनल क्यान्सर इन्स्टिच्युटबाट बाल क्यान्सर, ब्लड क्यान्सर र बोनम्यारो प्रत्यारोपण विषयमा अध्ययनको मौका पाए ।

२०६७ सालमा अमेरिकाको वासिङ्टनस्थित चिल्ड्रेन हस्पिटल र टेक्सासस्थित एमडी एन्डर्सन क्यान्सर सेन्टरबाट बालबालिकामा हुने क्यान्सर सम्बन्धी तालिम लिएका डा. शर्माले २०६८ सालमा अमेरिकाकै सिकागोस्थित नर्थवेस्ट विश्वविद्यालयबाट प्यालिएटिभ केयर (अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीको हेरचाह) सम्बन्धी तालिम लिए । यी तालिमका लागि उनलाई अमेरिकन सोसाइटी अफ क्लिनिकल अङ्कोलोजीले अन्तर्राष्ट्रिय शिक्षा विकास अवार्ड कार्यक्रम अन्तर्गत छनौट गरेको थियो ।

२०६७ सालमै सिङ्गापुरबाट रक्त क्यान्सर सम्बन्धी थप तालिम र २०७३ सालमा भारतको हैदरावादबाट प्यालिएटिभ केयर मेडिसिनमा एक महिनाको तालिम लिएका डा. शर्मा बालरोग, बालक्यान्सर र पेडियाट्रिक प्यालिएटिभ केयरको क्षेत्रमा कार्यरत छन् । प्रस्तुत छ, क्यान्सरको उपचार विशेषगरी बालक्यान्सरको क्षेत्रमा डेढ दशकको अनुभव सँगालेका डा. कृष्णसागर शर्मासँग क्यान्सर रोग, बालबालिकामा हुने क्यान्सर, क्यान्सरका लक्षण, रोकथाम र उपचारका विषयमा सफल खबरको विशेष प्रस्तुति सफल संवाद अन्तर्गत गरिएको भिडियो वार्ता :

 

प्रतिक्रिया दिनुहोस