सहकारी प्रकरण : व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, १० : ५८
सहकारी प्रकरण : व्यक्तिकै नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

काठमाडाैँ । सहकारी समस्या समाधानका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफल विना निष्कर्ष सकिएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबिच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए ।

देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए ।देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए। तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको नेता परियारले जनाए ।

‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडी बढ्न सक्दैन भन्ने हाम्रो अहिलेसम्मको अडान यथावत् छ’, परियारको भनाइ छ ।

सहकारी प्रकरणमा कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताको तहमा छलफल भएको हो । यद्यपि आइतबारको छलफलमा एमाले अध्यक्ष ओली भने अनुपस्थित रहेका थिए। आजै सरकारले संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ भने प्रतिपक्षले संसद् अवरोध जारी राख्ने जनाएको छ ।

कार्यदल सदस्यहरूका अनुसार आइतबार साँझसम्म कार्यदलसहित शीर्ष नेताहरूबिच पुन छलफल गर्नेबारे छलफल भए पनि समय तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस