अमेरिकामा मान्छेमा बर्डफ्लु सङ्क्रमणको दोस्रो मामिला पुष्टि

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १६ : २२
अमेरिकामा मान्छेमा बर्डफ्लु सङ्क्रमणको दोस्रो मामिला पुष्टि

वासिङ्टन डीसी । अमेरिकामा अर्का एक जना व्यक्तिमा पनि बर्डफ्लुको सङ्क्रमण देखिएको छ । अमेरिकामा बर्डफ्लुको सङ्क्रमण मानिसमा सरेको यो दोस्रो घटना हो ।

मिशिगनका एक किसानलाई सङ्क्रमण भएको जानकारी मिशिगन स्वास्थ्य तथा मानव सेवा विभाग (एमडीएचएचएस)ले दिएको छ । किसानलाई नियमित रूपमा बर्डफ्लु वा एभियन इन्फ्लुएन्जाको सम्पर्कमा आएको आशंका एमडीएचएचएसले गरेको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार डेरीका कर्मचारी एच५एन१ संंक्रमित वस्तुभाउका सम्पर्कमा भएको बताइएको छ । बिरामीलाई अहिले निगरानीमा राखिएको छ । सङ्क्रमित व्यक्तिले आफ्नो लक्षणबारे स्थानीय स्वास्थ्य अधिकारीलाई जानकारी गराएका थिए ।

पीडितको नाकबाट र आँखाबाट परीक्षणका लागि दुई वटा नमुना लिइएको थियो । नाकको नमुना इन्फ्लुएन्जा भाइरस नेगेटिभ पाइयो । आँखाको नमुना परीक्षणबाट भने सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था अहिले ठिक रहेको बताएको छ ।

टेक्सासमा भेटिएका थिए पहिला सङ्क्रमित

यसअघि गएको अप्रिलमा अमेरिकाको टेक्सासमा पहिलो पटक मानिसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको थियो । ती व्यक्ति पनि नियमित रूपमा बर्डफ्लुबाट सङ्क्रमित गाईवस्तुहरूको सम्पर्कमा थिए । ती पुरुषको पनि आँखाबाट लिइएको नमुनामा नेगेटिभ रिपोर्ट आएपछि नाकबाट लिइएको नमुनामा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस