मेक्सिकोमा र्‍यालीमा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, ११ : १८
मेक्सिकोमा र्‍यालीमा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोकोउत्तरी नुएभो लिओन राज्यमा चुनावी अभियानको र्‍यालीका क्रममा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । अरू १५ जना घाइते भएका छन्  । सो दुर्घटना राष्ट्रपति पदका उम्मेदवार योर्ज अल्भारेज मेनेजको र्‍यालीमा भएको हो ।

मोन्टर्रे नजिकै रहेको सान पेद्रो गार्जा सहरमा मेनेजले भाषण दिइरहेका बेलामा स्टेज भत्किएको थियो । अचानक आँधी आउँदा स्टेज भत्किएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमार्फत मेनेजले भनेका छन् । यस घटनामा आफू सुरक्षित रहे पनि आफ्नो समूहका कयौँ सदस्यहरू घाइते भएको उनले बताएका छन् ।

स्टेज भत्किएपछि मेनेजले आफ्ना समर्थकहरूलाई हात हल्लाएर सुरक्षित स्थानतिर लागेको भिडियोमा देखिन्छ । चट्याङ र शक्तिशाली आँधी चलिरहेकोले स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस