सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०७ जेठ २०८१, १२ : ३०
सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण लगायतमा सरकारले निर्भिक र निष्पक्ष कारबाही गरेको दाबी गरे ।

राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको भाश्य तोडिएको भन्दै उनले भने, ‘निर्भिक र निष्पक्ष कारबाहीले लोकतन्त्रको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’ सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । ‘सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु,’ उनले भने ।

नीति तथा कार्यक्रम पेश भइसकेको र बजेटको छलफल चलिरहेको अवस्थामा सरकारका दीर्घकालीन प्रतिबद्धताहरू संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताउँदै उनले भने, ‘प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ, म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।’

प्रतिक्रिया दिनुहोस