संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १४ : २७
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसद् रङ्गमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् । आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।

उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन ।’

उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठुला ठुला पार्टी कुस्ती खेलेर बस्दा आफूहरू भने अप्ठारोमा परेको बताए ।  उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठुला ठुला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहिँ कठिन भएको छ । गलत संसदीय अभ्यास भइरहेको छ ।’