मध्यरातमा पूजा गर्ने प्रिन्सिपलसहित ५ जना पक्राउ, मान्छेको बली दिन खोजेको आरोप

पत्रपत्रिकाबाट

मंगलबार, ०९ असोज २०७५, ०७ : ४९
मध्यरातमा पूजा गर्ने प्रिन्सिपलसहित ५ जना पक्राउ, मान्छेको बली दिन खोजेको आरोप

नवलपरासी  । गाडेको धन अर्थात गाड धन निकाल्ने भन्दै पटक पटक मध्यरातको समयमा पूजा गर्ने प्रिसिन्पलसहित ५ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
 पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमहवास्थित गोल्डेन लाईफ इङ्लिस स्कूलका सञ्चालक तथा प्रिसिन्पल हरेन्द्र बडै शर्मासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यस अघि विद्यालय परिसरमै गाडधन निकाल्न भन्दै मध्यरातमा मानव वली दिन खोजेको आरोप बडैमाथि लागेको  छ ।  उनले फेरि राति १० बजेतिर गाडधन निकाल्न भन्दै पूजा गरेपछि इलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।

उनले प्रतापुर गाउँपालिका–३ धनेबा खोला नजिकै शनिवार राति १० बजेतिर पिपलको बोटमा पुजा गरेको र त्यसको ५०० मिटर टाढा खोलाको छेउमा खाडल खन्दै गरेको अवस्थामा खोलामा माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी राति साढे एक बजे जाँदा उक्त स्थानमा बलिरहेको बत्ति, माटोको भाडामा खिर पकाएको, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा प्रहरीले फेला पारेका थिए ।

प्रहरी आएपछि पुजामा संलग्न ५ जनामध्ये प्रिन्सिपल हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए भने प्रतापुर–३ का ५५ वर्षीय ठगई प्रसाद मुसहर, उनका छोरा १८ वर्षीय बलिराम मुसहर र गुल्मी जिल्ला अर्बौनी घर भई हाल सुनवल नगरपालिका–१२ भूमहीमा बस्दै आएका ३२ वर्षीय तिलक भट्टराईलाई घटनास्थलबाटै प्रहरीले फक्राउ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस