भारतको काश्मीरबाट उद्धार गरिएका श्रमिक आइपुगे नेपाल

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १३ : ३२
भारतको काश्मीरबाट उद्धार गरिएका श्रमिक आइपुगे नेपाल

काठमाडौँ । भारतको काश्मीरबाट उद्धार गरिएका नेपाली श्रमिक आज नेपाल आइपुगेका छन् । उनीहरू दिल्ली हुँदै आज सर्लाही आइपुगेका हुन् ।नेपाल–भारत सीमा उनीहरूलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वागत गरेका थिए । उद्धार भएकामध्ये ईश्वरपुर नगरपालिकाका मात्र नौ जना श्रमिक रहेका छन् ।

ती सबैलाई आज मेयर आचार्यको जिम्मा लगाएको सामाजिक अभियन्ता सरोज रायले बताए । तीन महिनाअघि दलालको फन्दामा परेर काश्मीर गएका ४१ जना नेपाली श्रमिकलाई काम गराउने ठेकेदारले बन्धक बनाएर जबरजस्ती काममा लगाएका थिए ।

ठेकेदारले उनीहरूलाई यातना दिनुका साथै काम गरेबापत रकम समेत दिएका थिएनन् । तीमध्ये सात जना श्रमिक भागेर नेपाल आएपछि त्यो पोल खुलेको थियो । अभियन्ता रायले परराष्ट्र मन्त्रालयको समन्वयमा काश्मीर पुगेर उनीहरूलाई उद्धार गरेका थिए ।

काश्मीरमा सबै कानुनी प्रक्रिया पुरा गरी दिल्ली हुँदै आज उनीहरू नेपाल आइपुगेका हुन् । अभियन्ता रायले भने, ‘सबै प्रक्रिया पुरा गरेर नेपालसम्म ल्याउन १५ दिन लागेको छ । अब बिस्तारै सबै श्रमिकलाई सम्बन्धित पालिकाका प्रमुखलाई हस्तान्तर गर्नेछौँ ।’दुई जना ठेकेदार भने काश्मीरको प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस