सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, १४ : २३
सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुरको छिपछिपे सहकारीको रकम हिनामिना गरेको भन्दै परेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

संघीय संसद् सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले प्रक्रियामा अघि बढाएको नवलपुर प्रहरीले जनाएको छ । बस्नेतसमेतको संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामा सहकारीको रकम हिनामिना भएको पाइएको छ ।

कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नगेन्द्र बहादुर रिमाल, विकास सापकोटा, कृष्ण ज्ञवाली, सञ्जीव कुमार महतोलगायतलाई प्रहरीले पक्राउ गरिसेकेको हो । सहकारी ठगी प्रकरणमा ६ जना पक्राउ परिसकेको र थप अनुसन्धान भइरहेको नवलपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

नवलपुर प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस