भेरी करिडोरमा तीन वटा पक्की पुल निर्माण हुँदै

रासस

विहीबार, १३ बैशाख २०८१, ११ : ५१
भेरी करिडोरमा तीन वटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीन वटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १  छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताए । 

चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनभत्र पूरा गर्ने सम्झौता भएको छ । तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ ।

छलगाड खोलमा निर्माण हुने पुलको  वातावरणीय प्रभाव मूल्याङ्कनबारे सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रुपगाड खोलमाजस्तो पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए । सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ ।