चलचित्र ‘पुजार सार्की’को कौडा नृत्यमा आधारित पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १५ : ०१
चलचित्र ‘पुजार सार्की’को कौडा नृत्यमा आधारित पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ सार्वजनिक हुने नेपाली चलचित्र ’पुजार सार्की’को पहिलो गीत ’दर्शन गरेँ’ सार्वजनिक गरिएको छ ।शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको लोकप्रिय ‘कौडा नृत्य’मा आधारित छ ।

यस गीतमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे्र हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ ।

यसको कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको संगीत रहेको यस गीतमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ ।यसअघि सार्वजनिक पोस्टर र टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन् । यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदिप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ ।

अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको भूमिकामा प्रस्तुत गरिएको छ । यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ ।

निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यवसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले अहिलेसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले बितरण गर्दैछ । निर्माता भुसालले नै यस चलचित्रको लागि संगीत तयार गरेका छन् । हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसमा गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्तिश्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डीओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस