छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, १२ : ५५
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । झापा र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शक्रबार बेलुकी कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ चम्पापुरमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु २ त ६९२५ नम्बरको ट्याक्टरमा लु–६६ प ३२९१ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र प्रसाद चौहानको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापामा पनि दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ ।  शुक्रबार राति जिल्लाको कचनकवल गाउँपालिका–६ स्थित सडकमा मे.८ प ८१७ नम्बरको मोटरसाइकल र बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक सोही गाउँपालिका–४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।