देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका ५, धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो
धारापानी घुम्न आएका राजापुर नगरपालिका ३, मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताइन् । ‘धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन् । त्रिशूल, ॐ पोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाइन् ।
धारापानीमै तुलसीपुर उपमहानगरपालिका १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।
पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि ९ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५.५ फिट उचाइको पञ्चधातुको त्रिशुल निर्माण गरिएको छ ।
पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए ।
यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ । ‘दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ’, उनले भने, ‘वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ ।’
अग्लो त्रिशुल, १०८ शिवलिंग, १०८ बरपिपल जोडी, १०८ समीका वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ ।
मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब २ सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई ४ हजार ९ सय ६३ सिँढी बनाउने काम सुरु भएको जानकारी दिए ।
गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । सुनकोटमा देवीको मन्दिर तयार गरेर भइसकेको छ ।
धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए ।
कोसेली घर स्थापना
घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।
दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ बैशाख २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध
दाङमा राजमार्ग अवरुद्ध, बसको ठक्करबाट २ जनाको मृत्यु
दाङको घोराहीदेखि रुकुमको हुकाम जोड्ने शहीद मार्गको काम छिटो सक्न प्रचण्डको ध्यानाकर्षण
दाङमा धान उत्पादन बढ्यो
दाङमा गोली प्रहार गरी सशस्त्र प्रहरीका जवानको हत्या
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य