खाल्टे मिनीट्रक दुर्घटना : घाइते बालकको मृत्यु, मृतकको संख्या ३ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १२ : १०
खाल्टे मिनीट्रक दुर्घटना : घाइते बालकको मृत्यु, मृतकको संख्या ३ पुग्यो

काठमाडौं। धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा गत आइतवार मिनीट्रक दुर्घटनामा परी घाइते भएका बालकको मृत्यु भएको छ ।दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै आइतवार बिहान बा ३ ख ८९४७ नम्बरको मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनीट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएका ६ जना घाइतेको भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार जारी छ ।

 

 

दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवै जना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरूको मृत्युले गाउँ नै शोकमा परेको छ ।

साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनीट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए ।

घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय विष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय विमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस