सिंहदरबारमा केही सचिवहरूको सरुवा, सामान्यमा निरौला

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १६ : ३२
सिंहदरबारमा केही सचिवहरूको सरुवा, सामान्यमा निरौला

काठमाडौं । सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा फेरबदल गरेको छ ।

एक हप्ताअघि मात्रै उपराष्ट्रपति कार्यालयमा सरुवा भएका मुकुन्द निरौला सामान्य प्रशासन मन्त्रालयमा फर्किएका छन् । उपराष्ट्रपति कार्यालयमा जानु अघि उनी उद्योग सचिवका रुपमा कार्यरत थिए ।

हाल सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्काउने वा अन्य युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने भन्ने टुंगिएको छैन । तर, आइतबार निर्णय प्रमाणीकरण हुँदासम्म  टुंगो लगाइसकेर सरूवाको पत्र बनाउने तयारी छ ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गर्ने तयारी छ । तर, त्यो पनि अन्य केही सचिवको जिम्मेवारी हेरफेरका आधारमा मात्रै टुंगो लगाएर पत्र बन्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस