काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् ।
घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।
नेकपा एमालेकी सांसद भगवती न्यौपानेका अनुसार विमला घिमिरे २०४६ सालदेखि नेपाली राजनीतिमा छिन् । २०२९ साल साउन १२ गते कपिलवस्तुमा जन्मिएकी घिमिरेले २०४७ सालमा एमालेको संगठित पार्टी सदस्यता प्राप्त गरेकी थिइन् ।
अखिल नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेकी घिमिरे त्यसयता निरन्तर राजनीतिमै छन् । राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा पुगेकी हुन् ।
राष्ट्रिय सभाकी निवर्तमान उपाध्यक्ष उर्मिला अर्याल नेपाली राजनीतिमा घिमिरे निखारिएको व्यक्तित्व भएको बताउँछिन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै निवर्तमान उपाध्यक्ष अर्यालले नेपाली जनवादी आन्दोलनमा लागेर खारिएकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी उपयुक्त भएको बताइन् ।
‘विमला घिमिरे नेपाली राजनीतिमा चर्चित नाम हो । उहाँ जनस्थरमा स्थापित व्यक्तित्व हो । यो हिसाबले उहाँले उपाध्यक्षको कार्यभार राम्रोसँग सम्हाल्न सक्नुहुन्छ’ अर्यालले थपिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा ठूलो जिम्मेवारी दिए पनि सम्हाल्न सक्ने अनुभव भएको व्यक्तित्व हो । मैले यस हिसाबले बुझेकी छु ।’
२०४९ सालमा तत्कालीन नेकपा एमाले इलाका कमिटी सदस्य भएकी उनी जिल्ला कमिटीको उपसचिव हुँदै सचिवसम्म भइन् ।एसएसलीसम्म अध्ययन गरेकी घिमिरेसँग राष्ट्रिय प्रतिनिधि परिषद्, पार्टी केन्द्रीय स्कुल विभाग, अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव छ ।
उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय सदस्य थिइन् । एमाले र माओवादीबीचको पार्टी एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि बनेको एमालेमा घिमिरेले कपिलवस्तुको इन्चार्ज जिम्मेवारी पाएकी थिइन् ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि भने उनले अब दलीय आवद्धता त्याग गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित
मनसुनअघि जोखिमको आँकलन गरेर पूर्व तयारी थाल्न सरकारलाई निर्देशन
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने
७ मिनेट बसेर स्थगित भयो राष्ट्रिय सभाको बैठक