युरोपियन च्याम्पियनसिप फुटबल : टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १५ : ५१
युरोपियन च्याम्पियनसिप फुटबल : टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी

काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपियन च्याम्पियनसिपमा सहभागी हुने टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी गरिरहेको छ । युरोपियन च्याम्पियन्स लिगको आगामी संस्करण जर्मनीमा आयोजना हुँदै छ । प्रतियोगिता जुन १४ देखि जुलाई १४ तारिखसम्म सञ्चालन हुनेछ ।

यूईएफएले प्रत्येक टोलीमा २६ जना खेलाडीलाई समावेश गर्ने गरी सङ्ख्या बढाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ । यस विषयमा यूईएफएले सहभागी टोलीका प्रशिक्षकहरूसँग पनि छलफल गरिसकेको छ ।

‘छलफलका क्रममा विभिन्न सुझाव आएका छन् । टोलीमा खेलाडीको सङ्ख्या बढाउँदा उपयुक्त हुने धेरै सुझाव प्राप्त भएका छन् । हामी यस विषयमा छलफल गरिरहेका छौँ,’ यूईएफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा अर्को सातासम्ममा ठोस निर्णय आइसक्ने पनि यूईएफएले जनाएको छ । यसअघिको संस्करणमा प्रत्येक राष्ट्रले आफ्नो टोलीमा २३ जना खेलाडीमात्र समावेश गर्न पाउँथे । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट यसअघि टोलीमा २३ खेलाडी समावेश गर्नुपर्ने पक्षमा थिए ।

तर, अहिले २६ सदस्यीय टोली बनाउनु पर्ने पक्षमा उनी पनि सकारात्मक देखिएका छन् । आगामी युरोपियन च्याम्पियनसिपमा २४ टोलीको सहभागिता रहने छ । प्रतियोगिता जर्मनीका विभिन्न १० वटा सहरमा खेलाउने कार्यक्रम रहेको छ । इटाली युरोपियन च्याम्पियनसिपको साबिक विजेता हो ।

प्रतिक्रिया दिनुहोस