युद्धग्रस्त गाजापट्टीमा अमेरिकाले पहिलोपटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो

एजेन्सी

शनिबार, २४ चैत्र २०८०, ०९ : ०१
युद्धग्रस्त गाजापट्टीमा अमेरिकाले पहिलोपटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो

एजेन्सी । हमास र इजरायलबीच ५ महिनादेखि जारी युद्धका बीच गाजापट्टीमा अमेरिकाले पहिलोपटक विमानबाट राहत सामग्री खसालेको छ।

बीबीसीका अनुसार अमेरिकाले तीनवटा सैन्य विमानबाट खाद्य सामग्रीका ३८ हजार प्याकेट खसालेको हो। 

अमेरिकी केन्द्रीय कमान्डले यो अभियान जोर्डन वायुसेनाको सहयोगमा गरिएको जनाएको छ। 

अमेरिकी अधिकारीहरूले शुक्रबार राष्ट्रपति जो बाइडेनले उक्त घोषणा गरेको र आज पहिलोपटक राहत सामग्री खसालिएको बताएका छन्।

गत बिहीबार राहत सामग्रीको पर्खाइमा रहेका १०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि बाइडेनले उक्त वाचा गरेका थिए। 

सेन्ट्रल कमान्डको विज्ञप्तिअनुसार गाजाको तटीय क्षेत्रमा सी–१३० विमानबाट ३८ हजारभन्दा बढी खाद्य सामग्रीका प्याकेट खसालिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ३० हजारभन्दा बढी मानिस मारिएका छन्, जसमध्ये २१ हजार बालबालिका र महिला छन्। ७ हजारभन्दा बढी गाजावासी बेपत्ता र ७० हजारभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस