विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक

एजेन्सी

बुधबार, २१ चैत्र २०८०, १० : ३८
विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक

काठमाडौँ । अमेरिकाको प्रसिद्ध म्यागजिन ‘फोर्ब्स’ले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । जसमा विश्वमा अर्ब पतिको संख्या २ हजार ७८१ रहेका छन् । गत वर्षको तुलनामा यो १४१ जना बढी हो ।

यस वर्ष पनि बर्नार्ड आर्नल्ट विश्वका एक नम्बर अर्बपति बनेका छन् । लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट गत वर्ष पनि विश्वका अर्ब पतिको सूचीमा पहिलो नम्बरमा थिए । यी फ्रेन्च अर्ब पतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

फोर्ब्सका अनुसार विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । सर्वाधिक अर्बपति भएको देशमा अमेरिका पहिलो स्थानमै परेको छ । ‘फोर्ब्स’का अनुसार अमेरिकामा अर्ब पतिको संख्या ८ सय १३ छ । यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन् । अर्ब पतिको संख्यामा भारत तेस्रो स्थानमा छ । जहाँ २ सय जना अर्बपति छन् ।

यसैबीच विश्वका अर्ब पतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन् । चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् । उनको कुल सम्पत्ति १ अर्ब ८ करोड अमेरिकी डलर छ । चौधरी गत वर्ष चौधरी १६ सय ४७औँ स्थानमा थिए ।

नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरूको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।

विश्वका शीर्ष २० अर्बपति:

१. बर्नार्ड आर्नल्ट : लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट यस वर्ष पनि विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा परेका छन्। यी फ्रेन्च अर्बपतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

२. एलन मस्क : सामाजिक सञ्जाल एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क दोस्रो नम्बरमा छन्। उनको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ ।

३. जेफ बेजोस : तस्रो नम्बरमा रहेका अमेजनका संस्थापक बेजोसको कूल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

४. मार्क जुकरबर्ग : चौथो नम्बरमा रहेका फेसबुकका संस्थापक जुकरबर्गको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर छ ।

५. ल्यारी इलिसन : पाँचौँ नम्बरमा रहेका ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब डलर छ ।

६. वारेन बफेट : वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको कूल सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।

७. बिल गेट्स : सातौँ नम्बरमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।

८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्वसीईओ बाल्मरसँग कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।

९. मुकेश अम्बानी : नवौँ नम्बरमा रहेका अर्बपति भारतीय उद्यमी अम्बानीसँग कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ। एसियाका सबैभन्दा धनी व्यक्ति उनी रिलायन्स कम्पनीका मालिक हुन् ।

१०. ल्यारी पेज : विश्वका टपटेन अर्बपतिमा पर्न सफल गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर छ।

११. सर्गेइ ब्रिन : गुगलका सहसंस्थापक ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।

१२. माइकल ब्लुम्बर्ग : अर्बपतिको सूचीमा १२ नम्बरमा रहेका वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर छ ।

१३. अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४. कार्लोस स्लिम हेलु : टेलिकम कम्पनी अमेरिका मोविलका मालिक मेक्सिकन अर्बपति हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्रान्डका मालिक फ्रेन्च नागरिक मेयेर्सको कूल सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।

१६. माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति

९१ अर्ब डलर छ।

१७. गौतम अडानी : भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।

१९. रव वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रव वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०. जेन्सेन हुआंग : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।

Tags :  

प्रतिक्रिया दिनुहोस