काठमाडौँमा चैत २५ गतेदेखि गरिब घरपरिवार गणना

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, ०८ : ०६
काठमाडौँमा चैत २५ गतेदेखि गरिब घरपरिवार गणना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चैत २५ देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि मंगलबारदेखि थापाथली इञ्जिनियरिङ्क क्याम्पसमा ४ दिनको तालिम सुरु भएको छ । 

तालिम सुरु गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, गणकहरुले भरेको विवरण स्रोतमा पुष्टि हुनु पर्ने बताए ।  ‘अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन । यसबाट प्राप्त हुने तथ्याङ्कहरु नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन् ।

फिल्डमा जानुअघि तथ्याङ्कको संवेदनशीलता हरेक गणक, सुपरिवेक्षक र यसमा खटिने अधिकारीहरुलाई बोध हुन जरुरी छ,’ उनले भने, ‘फिल्डमा जाने हरेक व्यक्तिसँग नागरिकले आफ्ना कोणबाट कुरा राख्न सक्नुहुन्छ ।

यसरी सोधिने हरेक प्रश्नको सहजतापूर्वक उत्तर दिने क्षमता लिएर फिल्डमा होला । आफूले उत्तर दिन नसक्ने सवाल भए आफ्नो भूमिकाका बारेमा बुझाएर सोधिएका प्रश्नको उत्तर पाउने ठाउँका बारेमा भनिदिनुपर्छ ।’

४ दिने तालिममध्ये पहिलो २ दिन सैद्धान्तिक र पछिल्ला २ दिन प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट््यावको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइनेछ ।

प्रशिक्षणका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना अधिकारीहरुलाई प्रशिक्षण दिएर प्रशिक्षकका रुपमा उत्पादन गरेको छ । तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ ।

१ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ ।गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब गरिब परिचय पत्रका आधारमा हुनेछ ।

दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचय पत्रका आधारमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस