पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छः रेशम चौधरी

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १६ : ३१
पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छः  रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफू रहेको दाबी गरेका छन् ।प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै संरक्षक चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गर्दै रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्षमात्र रहेको बताए ।

लाखौँ जनताबाट चुनिएर आएको अध्यक्ष आफू रहेको रेशमको भनाइ थियो । निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने टिप्पणीसमेत गरे ।

निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि स्वीकार गरेको थिएन तर उनीहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसकेको भन्दै रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे ।

उनले आफ्नो तर्फबाट रञ्जिता श्रेष्ठ पक्षका कुनै पनि नेतामाथि हातपात नभएको दाबीसमेत गरे । बरु उनीहरूबाटै सुटर ल्याएर पार्टी कार्यालय घेर्ने चेतावनी दिइएको रेशमको भनाइ छ ।

उनले भने, ‘मैले आज प्रधानमन्त्री प्रचण्डसँग भेटमा पनि भनेँ– तपाईले कस्तो तागत दिनुभएको छ कि उनीहरू (रञ्जिता)ले सुटर ल्याउने भइसके ।’प्रधानमन्त्री प्रचण्डले फोन गरेर बोलाएपछि आफू भेट्न गएको रेशमको भनाइ छ ।

‘तपाईंहरूको पार्टीमा खासै विवाद छैन, किन बाहिर छताछुल्ल भएको ? त्यसलाई कसरी हुन्छ मिलाउनुस् भनेर प्रधानमन्त्री प्रचण्डले सुझाव दिनुभयो,’ उनले भने ।रेशमले बाहिर आएको हल्लाजस्तो पार्टीमा विवाद नरहेको पनि बताए । चैत २३ गते बस्ने बैठकले सबै विवाद समाधान हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस