विरगञ्ज। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालू आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत १ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताए ।
'गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा जरिवाना बापतको राजस्वको रकम केही घटेको छ', उनले भने, 'अहिले नयाँ टीभीआरएस सिस्टम लागू गरेका छौं । विगतमा अधिकतम जरिवानाबाट शुरूवात गर्ने गरिन्थ्यो । तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।'ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ छ ।
कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ ।ट्रकबाट रु ८८ लाख १९ हजार दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार/जीप/भ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन