पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड रुपैयाँ

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १३ : ५७
पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो डेढ करोड रुपैयाँ

विरगञ्ज। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालू आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत १ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताए ।

'गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा जरिवाना बापतको राजस्वको रकम केही घटेको छ', उनले भने, 'अहिले नयाँ टीभीआरएस सिस्टम लागू गरेका छौं । विगतमा अधिकतम जरिवानाबाट शुरूवात गर्ने गरिन्थ्यो । तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।'ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ  छ । 

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ ।ट्रकबाट रु ८८ लाख १९ हजार दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख  ३० हजार  पाँच सय राजस्व सङ्कलन भएको छ । ​

त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार/जीप/भ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ ।  ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस