कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, १३ : ०३
कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन्। बालुवाटारमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीमा पहिले देखिनै माओवादीले मुख्यमन्त्री लिइरहेको र जनाधार पनि बलियो भएकाले पार्टीकै मुख्यमन्त्री हुनुपर्ने बताएका थिए।

जवाफमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारेमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल भइहरेको र अझै निष्कर्षमा पुगिनसकेको बताएका थिए।

पदाधिकारी बैठकअघि बालुवाटारमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री ‘प्रचण्ड’बीच छलफल भएको थियो।गत सोमबार पनि बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने लगभग सहमति भएको थियो। उक्त सहमतिबारे माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले बागमतीका केन्द्रीय सदस्यहरूको बैठकमा ब्रिफिङ पनि गरेका थिए।

कर्णालीमा माओवादी केन्द्र दोस्रो ठूलो दल हो। त्यहाँ अहिले माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन्। ४० सदस्यीय कर्णाली प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन्। यस्तै काँग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस