प्रतिपक्षले कानुन निर्माणमा असहयोग गर्नु हुँदैन : कानुनमन्त्री

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, ०९ : ४८
प्रतिपक्षले कानुन निर्माणमा असहयोग गर्नु हुँदैन : कानुनमन्त्री

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गरी पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसँग भेटघाटमा ब्यस्त छन्। 

एमालेका नेतासमेत रहेका मन्त्री गिरीले आइतबार पैयू गाउँपालिकाका स्थानीयसँग भेट गरेका हुन्।

आफ्नो निर्वाचन क्षेत्र रहेको पैयू गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीयसँग भेटघाट गरेका गिरीले हुवास बजारमा आयोजित कार्यक्रममा कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिए। उनले कानुन अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उनको भनाई थियो।

कतिपय कानुन संसोधन गर्नसमेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको बताए। ‘बदलिदो परिवेश अनुसारका कानुन अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको छ,’ मन्त्री गिरीले भने।

सदनमा पेश भएका कतिपय विधेयक राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेकोमा जोड दिए। 

उनले  पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटमा संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको र ती ऐनहरु छिट्टै जारी हुने दाबी गरे। 

उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने भन्दै कानुन निर्माणमा सवै पक्षको सहयोग हुनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया दिनुहोस