शाश्वतधाममा धुमधामको घुमघाम

सूर्यप्रकाश कँडेल

आइतबार, ३१ भदौ २०७५, २० : ४२
शाश्वतधाममा धुमधामको घुमघाम

नवलपरासी । मकवानपुरको हेटौँडा निवासी पत्रकार भानुभक्त आचार्य आइतबार दिउँसो नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाम परिसरमा फेला परे । उनी समाचार संकलनको लागि नभएर शाश्वतधाम अवलोकनका लागि सपरिवार दुम्कौली आइपुगेका रहेछन् । 
हेटौँडाबाट चितवनहुँदै नवलपरासीको दुम्कौलीमा आइपुगेर शाश्वतधाम अवलोकन गरेपछि उनलाई गर्मी र यात्राको थकान केही महसुस भएन । उनी भन्छन्, साश्वतधाममा धुमधामको घुमघाम गरियो । दिन बितेको पत्तै भएन । चौधरी ग्रुपले साह्रै राम्रो मन्दिर निर्माण गरेको रहेछ ।

व्यापारिक घराना चौधरी ग्रुपले दुम्कौलीस्थित सीजी औद्योगिक पार्कभित्र निर्माण गरेको शाश्वतधाम राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेपछि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । ‘धाम भनेपछि भारतमा जानु पर्छ भन्ने लागेको थियो तर होइन रहेछ’ श्रीमतीसहित नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाम अवलोकन गर्न पुगेका बर्दघाटका ७९ वर्षीय द्रोण गौतमले भने, ‘छोराले चारधाम गराएर ल्याएको १५ वर्ष भयो । अहिले यहीँ यस्तो राम्रो धाम बन्यो । अब किन भारत जानु प¥यो ? नेपालमा नै भएको धार्मिक स्थलहरु महत्वपूर्ण भएपनि धर्म कमाउनका लागि विदेश जाने अवस्था अन्त्य हुनु पर्दछ । पशुपतिनाथ, गोसाइकुण्ड, मुक्तिनाथ लगायतका धार्मिक स्थल नेपालमा नै छन् ।

 

पहिलोपटक शाश्वत धाम हेर्न आएका वृद्ध गौतमले आफूलाई यो ठाउँ धेरै राम्रो लागेको बताए । सवारी साधनबाट ओर्लेर टाढा जानु नपर्ने, सुन्दर, शान्त वातावरणमा निर्माण गरिएको मन्दिरमा आउँदा आनन्द लागेको उनले बताए । ‘भगवानको दर्शन गर्न पाइने, पूजा गर्न पाइने, पैसा नलाग्ने, हेर्दैमा मन शान्त हुने यस्तो ठाउँमा आउँदा रमाइलो लागेको छ’ गौतमले भने, ‘छिमेकीलाई पनि यहाँको बारेमा जानकारी गराउँछु ।’ वृद्धवृद्धा, बालबालिका र युवायुवतीको आकर्षणको केन्द्र बन्दै गएको छ शाश्वतधाम । चौधरी ग्रुपले आफ्नो उद्योगको आडमा निर्माण गरेको शाश्वतधाम अहिले धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य बनेको छ ।
नारायणगढबाट सवारी साधनमा ३० मिनेटमा पुगिने शाश्वतधाम जानको लागि सहज रुपमा सवारी साधन पाउने र निजी साधनबाट पनि सजिलै पुग्न सकिने भएकाले धेरैको आकर्षणको केन्द्र बनेको छ । सार्वजनिक बिदाको दिन र अन्य समयमा पनि यस मन्दिरको अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको छ । चितवनको भरतपुरबाट परिवारसहित शाश्वतधाम पुगेका विराट घिमिरेले भने, ‘नजिकै नयाँ आकर्षक मन्दिर बनेको भएर हेर्न आएँ । पूजा गर्न आउने र त्यत्तिकै घुम्न आउने दुबै थरीलाई यसले आकर्षित गर्दोरहेछ । कलात्मक तरिकाले निर्माण गरेको भव्य मन्दिर राम्रो लाग्यो ।’ परिवारसहित शाश्वतधाम अवलोकनका लागि दुम्कौली आइपुगेकी भरतपुर महानगरपालिका ७, कृष्णपुरकी देवकी पौडेललाई पनि सीजी शाश्वतधाम आकर्षक लाग्यो । ‘हेर्नको लागि राम्रो छ भन्ने सुनेर आएको, धेरै मनमोहक लाग्यो’ विदेशबाट बिदामा घर आएका आफन्तलाई लिएर शाश्वतधाम पुगेकी पौडेलले भनिन्, ‘मनमा चिन्ता परेर आएकालाई शान्त बनाइदिँदो रहेछ । पूजा गर्न पाइने, धार्मिक आस्था बढ्ने र घुम्न पनि हुने सुन्दर ठाउँ रहेछ शाश्वतधाम ।’

शाश्वतधाम व्यवस्थापन समितिका अनुसार, सार्वजनिक बिदाको समयमा दैनिक तीनदेखि चार हजार जनासम्म शाश्वतधाम अवलोकनका लागि आउने गरेका छन् । तोकिएको स्थानबाट दर्शन गर्न पाउने, फोटो खिच्न पाउने, अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ । पैदल हिँड्ने स्थान छुट्टै बनाइएको छ । भर्खरै निर्माण गरेर सर्वसाधारणको लागि खुल्ला गरिएको स्थानलाई सुरक्षित र आकर्षक बनाई राख्नको लागि भक्तजनले मन्दिरको नियम मान्नु पर्ने हुन्छ । चौधरी ग्रुपको लागानीमा निर्माण गरिएको सीजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम रहेको छ । सात बिघामा फैलिएको शाश्वतधाम निर्माणमा १४ वर्ष लागेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी बताउँछन् । ‘शाश्वतधाम सबैको हो, नेपालको गौरव हो, चौधरीले भने, ‘शाश्वतधाम निर्माणमा समय र रकम धेरै नै लगानी भएपनि यसको मूल्य निर्धारण हुन सक्दैन ।’

खजुराओ शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर शाश्वतधामको प्रमुख आकर्षण हो । गुरुकुल, सात्विक रेष्टुराँ, गौशाला, दशद्वारलगायत दर्जनभन्दा बढी क्षेत्रको अवलोकन गर्न सकिन्छ । शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदरस्वरुप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’ शाश्वतधामका संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’ सनातनकालदेखि सम्पदाको रुपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ ।


शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले १५ वर्षअघि जगद्गुरु शंकराचार्य दुम्कौलीस्थित चौधरी औद्योगिक ग्राममा आएका बेला चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग भेट भएको र सोही भेटमा शंकराचार्यले शाश्वतधाम स्थापनाका लागि प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको जानकारी दिए । ‘शाश्वतधामको परिकल्पना जगद्गुरु शंकराचार्य यहाँ आएका बेला १५ वर्षअघि नै भएको हो’ चावलाले भने, ‘नेपालभित्र रहेका पौराणिक महत्वका एक सय ३५ भन्दा बढी धार्मिकस्थलको भीडमा शाश्वतधाम बेग्लै पहिचान बोकेर उभिएको छ ।’ शाश्वतधामभित्र आध्यात्मिक शिविर आयोजना भइरहने ध्यान र योग केन्द्रसमेत रहेको उनले जानकारी दिए । शाश्वतधाम सर्वसाधारणको लागि सधैँ खुल्ला रहने जानकारी दिँदै चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठ भन्छन्, ‘बिहान सात बजेदेखि राति आठ बजेसम्म इच्छुक जोकोहीले शाश्वतधामको निःशुल्क अवलोकन गर्न सक्नेछन् । यहाँ विशेष पूजाआजाको लागि भने शुल्क लाग्नेछ ।’ शाश्वतधामको निर्माण औद्योगिक पार्कको लागिमात्र नभएर नवलपरासीवासी र सम्पूर्ण नेपालीहरुकै लागि भएको उनको भनाइ थियो । जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम निर्माण सम्पन्न गरिएको शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पिपल, अशोकलगायत रुखका बिरुवा लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस