खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, ०९ : २२
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो । 

कोषले घर जलेर विस्थापित भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए ।  

प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका खोटाङेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो । सुरुमा २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले ३० लाख संकलन भएको र ब्याजवापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरुप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातले बताए ।  

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार पाँच हजार र पूर्ण क्षति भएकालाई दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ । 

दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् । गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् । आगलागीका यी घटनाबाट एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए 

प्रतिक्रिया दिनुहोस