छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १२ : ३९
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका-११ कोटथर गरगरेस्थित सडकमा गण्डकी प्रदेश ०४-००१ ह ००४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-१२ नयाँबेलाहानी बस्ने ६५ वर्षीय भुपलाल अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता झापाको बुद्धशान्ति गाउँपालिका-१ नमुनाचोकस्थित सडकमा प्र.३-०२-००५ प ७१०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३३ वर्षीय धर्मेन्द्र सिजाली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका-१ थापापुरस्थित सडकमा जेबि कन्ट्रक्शन गुलरिया बर्दियाको एक्सपी १६३ नम्बरको न्यु मेट्रिक रोलरले च्यापिँदा भारत बिहार कृष्णगंज सिगिया तुलामनी ग्राम पन्चायत सदिघाट घर भएका २२ वर्षीय प्रबेश आलमको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।  हाल फरार रोलरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकस्थित सडकमा बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रकलाई ना.४ ख ३२४ नम्बरको बसले ठक्कर दिई बुधबार साँझ दुर्घटना हुँदा ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २ जनाको बिएण्डआर अस्पताल नवलपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी बाराको निजगढ नगरपालिका-७  लामो पुलस्थित सडकमा प्र.२-०३-००१ ख ४०५९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ स्थित सडकमा भे.३ प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २४ वर्षीय सुरज कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस