प्रधान सेनापतिद्वारा ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १२ : ५९
प्रधान सेनापतिद्वारा ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नव नियुक्त उप सेनानीहरूलाई पदोन्नति भएको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र प्राविधिक उप सेनानी(स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली सेनाका रथी वृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।