नेपाली क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने आईसीसी अध्यक्षको प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १६ : ३१
नेपाली क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने आईसीसी अध्यक्षको प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेबिच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबिच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सक्ने सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राख्न प्रयासरत रहेको बताए । उनले पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको पनि बताए ।

सदस्यसचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रङ्गशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको जानकारी पनि गराए ।

उनले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यू–१९ महिला टी–२० विश्वकपका लागि आईसीसीबाट पनि सहयोगको अपेक्षा गरे । उनले विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद पनि दिए ।

‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि आईसीसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु । हामीले पनि आईसीसीबाट महिला यू–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ । हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी नरहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

उनले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाउन पनि आग्रह गरे । उनले नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाई पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगको आवश्यक्ता रहेको बताए ।

भेटका क्रममा आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित श्रोत र साधानका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको धारणा ब्यक्त गरे ।

अध्यक्ष ग्रेग बार्कलेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस