अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १९ : १९
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)

काठमाडौँ । अब मेनपावर कम्पनीले पनि नेपालबाट रोजगारीको लागि कोरियामा कामदार पठाउन पाउने भएका छन् । यसअघि सरकारले मात्रै नेपालबाट कोरियामा काम नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन सकिने गरी कार्यविधि तयार भएको छ ।

दक्षिण कोरियाले सुरूमा कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ्ग क्षेत्रमा नेपाली कामदार लैजाँदै आएकोमा पछिल्लो समय अब वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि लग्ने बताएको थियो । सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र थपिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० मार्फत मेनपावरलाई नेपाली कामदार पठाउन बाटो खोलिएको हो । नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रूपमा (ई–७ भिसा प्रणालीमार्फत) रोजगारीको लागि पठाउने गरी यो कार्यविधि बनेको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क. को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको बताइएको छ । 

नयाँ कार्यविधिमा ई-७ भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारीको कार्य गर्न अनुमति प्राप्त नेपाली इजाजतपत्र प्राप्त संस्थाहरूले नेपाली श्रमिक पठाउन सक्ने उल्लेख गरेको छ ।

नेपालका मेनपावर व्यवसायीहरूले कोरियाले निजी क्षेत्र (बीटूबी) मार्फत ई-७ भिसा ल्याउने छन् । हाल ईपीएसबाट गइरहेका नेपालीहरूको ई-९ भिसा हो । भने ई-७ भिसा दक्ष कामदारका लागि हो । 

प्रतिक्रिया दिनुहोस