डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज

रासस

सोमबार, ०५ चैत्र २०८०, १५ : २३
डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता कामलाई तीव्र बनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा डढेलो नियन्त्रणका लागि कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालगायतको टोलीलाई तयारी अवस्थामा राखिएको छ । अग्नि नियन्त्रणका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

 उनका अनुसार निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आगलागी हुन नदिनका लागि उपभोक्तालाई सचेतना जगाउने कार्यलाई तीव्र पारिएको छ । उनले भने, “डढेलोबाट हुने क्षति र यसको प्रभावका विषयमा हामीले जनमानसमा चेतना फैलाउने काम गरिरहेका छौँ ।

सामुदायिक वन क्षेत्रमा डढेलो लागेमा समुदायलाई नै परिचालन गरी डढेलो नियन्त्रण गर्ने योजना बनाइएको छ । डढेलोका कारण संरक्षित वन्यजन्तुलाई पर्ने असरका बारेमा जानकारी गराइएको उनले बताए । तिवारीका अनुसार साना संरक्षित वन्यजन्तुमा धेरै असर पर्ने गरेको छ । यस्तै वनस्पतिमा डढेलोले असर पर्ने भएकाले यसलाई नियन्त्रणसँगै डढेलो नै लाग्न नदिनका लागि निकुञ्जले काम गरिरहेको उनले जानकारी दिए ।

 चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती सामुदायिक वन सात सय २९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना डढेलो नियन्त्रणका लागि समुदायस्तरमा तालिम, सचेतनालगायत कार्यक्रम नियमित सञ्चालन गरिरहेको बताउँछन् । 

उनले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आगलागी भएमा वन, वन्यजन्तुसँग, मानव र मानवबस्तीमा असर पर्ने भएकाले स्थानीय बासिन्दासमेत सचेत रहेको बताए । उनले डढेलो लाग्नै नदिने र लागि हालैमा के गर्ने भन्नेबारेमा आममध्यवर्तीवासीलाई प्रशिक्षित गराइएको जनाउँदै संरक्षणमा सबै जुट्ने बताए ।

प्रतिक्रिया दिनुहोस