पूर्वसभामुख महरालाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, ११ : ४७
पूर्वसभामुख महरालाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले जनाएको छ ।

गृहमन्त्री रवि लामिछानेले आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । आजैका दिनबाट सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।

बाँसरी जग्गा प्रकरणमा संलग्न रहेकाहरुको समेत बयान लिन निर्देशन दिइएको छ । यसक्रममा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।

प्रतिक्रिया दिनुहोस