पोखरा एयरपोर्टको ऋण अनुदानमा बदलिने सम्भावना छ : प्रधानमन्त्री

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, १० : ४१
पोखरा एयरपोर्टको ऋण अनुदानमा बदलिने सम्भावना छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाको ऋण अनुदानमा बदलिने सम्भावना रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण कार्यक्रमलाई आइतबार बिहान सम्बोधन गर्दै प्रचण्डले पोखरा एयरपोर्टको सबै ऋणलाई अनुदानमा बदल्न आफूले प्रयास गरिरहेको बताए। 

‘२५ प्रतिशत मात्र होइन सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न मेरो ध्यान छ। त्यो सम्भावना देखेको छु,’ उनले भने, ‘अहिलेलाई यत्ति मात्रै भन्छु।’ 

प्रधानमन्त्री प्रचण्डले पोखराबाट नियमित उडानका लागि पनि विशेष पहल गरिरहेको जानकारी दिए। ‘चीन भ्रमणमा समझदारी बनेको छ। यहाँबाट छिटै नियमित उडान हुनेछ,’ उनले भने। 

त्यसक्रममा उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताए। 

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिए। 

‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्रीले भने, ‘आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ।’

प्रतिक्रिया दिनुहोस