सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा चलाउन सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १२ : ४५
सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं। सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी (बीके)विरुद्ध मुद्दा चलाउन सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।

सुन तस्करी प्रकरणमा गत असोज १५ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित उच्च स्तरीय आयोगले उक्त सिफारिस गरेको हो । आयोगमा सहकुल थापा, किशोरजंग कार्की र प्रेम राज जोशी सदस्य थिए ।

 

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याएर मुद्दा चलाउनु पर्ने आयोग निष्कर्ष छ ।

दावासँग आर्थिक लेनदेन र चिनियाँ तस्करीहरूबारे कुराकानी गरेको तथ्य फेला परे पनि सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेको हो । उनीसँग आयोगले पनि बयान लिएको थियो ।​​

उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस