मेस्सी र सुवारेज चम्किँदा मियामी अन्तिम ८ मा

एजेन्सी

विहीबार, ०१ चैत्र २०८०, १० : १०
मेस्सी र सुवारेज चम्किँदा मियामी अन्तिम ८ मा

एजेन्सी । नासभिललाई हराउँदै इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको अन्तिम आठमा प्रवेश गरेको छ । लियोनेल मेस्सी र लुइस सुवारेजले गोल र एसिस्ट गर्दा टोली दोस्रो लेगमा ३–१ र समग्रमा ५–३ गोलले विजयी बनेको हो ।

खेलको सुरुवातमा नै मेस्सीको पासमा लुइस सुवारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । २३ औँ मिनेटमा मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३ औँ मिनेटमा रोबर्ट टेलरले ३७ वर्षीय सुवारेजको पासमा गोल गर्दै टोलीलाई ३–० को फराकिलो अग्रता दिलाए ।

इन्जुरी समयमा साम स्टरिजले नासभिलका लागि गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो । आइतबार एफसी मोन्ट्रेयालसँग २–३ गोलले पराजित मियामीले यो खेलमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । खेलमा मात्र ४९ मिनेट खेलेका मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अब टोलीले च्याम्पियन्स कपको अन्तिम आठमा एफसी सिन्सिनाटी र सीएफ मोन्टेरेबिचको विजेतासँग खेल्नेछ । उता लिगमा टोलीले डीसी युनाइटेडसँग भिड्नेछ ।