राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १३ : ०३
राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औं ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरिने बताए । राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत रहेको उनको भनाइ थियो ।

'नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ', प्रधानमन्त्री प्रचण्डले भने, 'साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।'

युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सबल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।​​

प्रतिक्रिया दिनुहोस