विद्युत् प्रसारण लाइनको १८ किमी लामो सीमापार खण्डको काम अघि बढ्यो

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १९ : ३०
विद्युत् प्रसारण लाइनको १८ किमी लामो सीमापार खण्डको काम अघि बढ्यो

काठमाडौँ । एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

एमसिए नेपाल सञ्चालक समितिको ४०औँ बैठकले सो निर्णय गरेको हो । यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।

सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव तथा प्रवक्ता नविन राज सिंहले भने, “नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै एमसिए–नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो । यस खण्डलाई वृहद् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ ।” बाँकी २९७ किमि प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै निर्माण सम्पन्न गर्न काम अगाडि बढाइरहेको एमसिए नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस