सौराहामा स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम सुरु

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १५ : ३२
सौराहामा स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम सुरु

चितवन । पर्यटकीय नगरी सौराहामा स्थानीय तहका ‘असल अभ्यास’ आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सुरु भएको छ । दुई दिनसम्म चल्ने कार्यक्रमको एक भव्य समारोहका बीच वागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायले उद्धघाटन गरे । सो अवसरमा बोल्दै उनले तीनै तहका सरकार बीच समन्वयको आवश्यकतामा जोड दिँदै योजना निर्माण, श्रोत व्यवस्थापन, जनशक्तिको क्षमता अभिवृद्धि र व्यवस्थापनका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रदेश सचिव हुमकला पाण्डेले अन्तर सरकारी सम्बन्ध सुदृढीकरण, स्थानीय र प्रदेश सरकारको क्षमता विकासमा पि.एल.जि.एस.पी कार्यक्रमको भूमिकाको प्रशंसनीय रहेता पनि समग्रमा वित्तिय तथा भौतिक प्रगति बढाउनु पर्नेमा विशेष जोड दिए ।उनले संघ र प्रदेश सरकारले आवश्यक कानून र मापदण्ड तयार गरी सोअनुसार कार्य प्रगति भए नभएको तर्फ ध्यान दिनुपर्ने विचार राख्दै कार्यक्रमबाट स्थानीय भूगोल र नागरिकको आवश्यकता अनुसार सहयोग र प्रोत्साहन गरिनुपर्नेमा जोड दिए  ।प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पि.एल.जि.एस.पी) का राष्ट्रिय कार्यक्रम निर्देशक डा.नारायणप्रासद रेग्मीले स्थानीय तहले सङ्घीय सरकारबाट प्राप्त हुने साझा अधिकारीको सूची अनुसार कानुन निर्माण तथा कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले यस्ता कार्यक्रम ७ प्रदेशमा गर्ने लक्ष्यका साथ ५ प्रदेशमा सम्पन्न भईसकेको जानकारी दिए ।  

संघियताको लाभको सही उपयोग र सफलताका लागि स्थानिय तहका योजनाहरूमा प्रदेश र स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा रेग्मीको जोड थियो ।असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सू–सूचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहले स्पष्ट मार्गचित्र र कार्यसूची तयार गरी सोही अनुसार आफ्ना प्राथमिकता तयार गर्नुपर्ने तर्फ स्थानीय तहको ध्यानाकृष्ट कार्यक्रममा गरिएको थियो ।सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान प्रदान हुने यस अन्तक्रिया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधारका हुने पि।एल।जि।एस।पी राष्ट्रिय कार्यक्रम व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी दिए  ।

गाउँपालिका तथा नगरपालिका, महानगरले आफ्नो काम कर्तव्य र अधिकारको अभ्यासका क्रममा उदाहरणीय कामलाई असल अभ्यास मान्दै त्यस्ता कामको सूची केन्द्र सरकारलाई पठाएसगैँ असल अम्यासहरुको नमुना संकलन गरी संगालो प्रकाशत गरिने पि.एल.जि.एस.पी राष्ट्रिय कार्यक्रम व्यवस्थपक भूपेन्द्र सापकोटाले जानकारी दिए  ।यसले उदाहरणीय कामको निरन्तरता हुनेछ उनले भने, सो काम अन्य गाउँपालिका,  नगरपालिका र महानगरका लागि समेत उदाहरणीय बन्ने भन्दै प्रचार गर्न लागिएको हो ।स्थानीय तहको प्रकृया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई कार्यक्रमको मुख्य उद्देश्य रहेको सापकोटाको भनाई छ ।

केन्द्र सरकारले स्थानीय तहका ‘असल अभ्यास’ खोज्ने अभियान अन्र्तगत वागमती प्रदेश अन्र्तगत ११९ तहमध्ये ३० तहका प्रमुख अध्यक्ष, उप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरुको ‘असल अभ्यास’ आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम सुरु गरिएको प्रदेश सुशासन केन्द्र ललितपुर वागमती प्रदेशका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले जानकारी दिए । उनले स्थानीय तहका असल अभ्यासहरूको प्रशंसा गर्दै प्रस्तुतीकरणहरुलाई अझै नतिजामुखी बनाउनु पर्ने र यस्ता अन्तक्रिया कार्यक्रमहरूलाई स्थानिय तहका उत्पादनहरूको प्रवद्र्धन गर्ने अवसरको रूपमा समेत लिनुपर्ने विचार व्यक्त गरे । यस्ता अम्यास कार्यक्रमले संघीयता कार्यान्वयनमा प्रर्वद्धन गरी सेवा प्रवाहमा छिटो छरितोसगैँ सुशासन युक्त सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । सबै स्थानीय तह गाउँपालिका, नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असल अभ्यासका नमुना माग गरेको थियो । दुई दिने असल अभ्यास आदान प्रदान कार्यक्रमको समापन पश्चात प्रस्तुत भएका असल अभ्यासहरू मध्ये उत्कृष्ट असल अभ्यासहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गर्ने लक्ष्य राखेको छ ।


 

प्रतिक्रिया दिनुहोस