जसपाले सरकारबारे आज साँझ मात्रै निर्णय गर्ने

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १२ : १९
जसपाले सरकारबारे आज साँझ मात्रै निर्णय गर्ने

काठमाडौं। सरकारमा जाने/नजाने विषयमा निर्णय गर्न बसेको समाजवादी पार्टी (जसपा)को बैठक अनिर्णित बनेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा सोमबार बिहान बसेको कार्यकारिणी समिति बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा केही निर्णय गर्न सकेन ।

जसपाका सांसद राजकिशोर यादवले पुनः ४ बजे बस्ने गरी बैठक टुंगिएको बताए । बैठकमा विकसित घटनाक्रमबारे अध्यक्ष उपेन्द्र यादवले ब्रिफिङ गरेका थिए ।

'हिजो बालुवाटारमा हाम्रो अध्यक्षजीलाई बोलाइएको रहेछ । त्यहाँ पहिलेदेखि नै प्रधानमन्त्री प्रचण्डज्यू, केपी ओलीज्यू र रवि लामिछाने हुनुहुन्थ्यो,' यादवले  भने, 'सत्ता समीकरणका विषयमा भएको सहमतिमा हस्ताक्षर गर्न राति नै अध्यक्षज्यूलाई उहाँहरूले भन्नुभएको थियो । तर, पार्टीमा सल्लाह गरेर मात्र केही हस्ताक्षर गर्ने भनेर फर्किनुभयो ।'

विकसित घटनाक्रमका आधारमा प्रधानमन्त्रीसँग छलफल तथा संवाद गर्न राजेन्द्र श्रेष्ठ र रकम चेमजोङ्लाई खटाइएको उनले बताए ।अर्का सांसद नवल किशोर साहका अनुसार प्रधानमन्त्रीले मन्त्रीको सूची मागे पनि त्यस विषयमा कुनै निर्णय भएको छैन ।

साँझ ४ बजे बस्ने बैठकबाट सरकारमा जाने वा नजाने, गए कसलाई मन्त्री बनाउने भन्ने निर्णय हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस