कांग्रेस सचेतकको प्रस्ताव: रातिसम्म बसेर भए पनि टीआरसी विधेयक आजै टुंगाऔं

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १६ : २१
कांग्रेस सचेतकको प्रस्ताव: रातिसम्म बसेर भए पनि टीआरसी विधेयक आजै टुंगाऔं

काठमाडौं। प्रतिनिधि सभामा रहेका प्रमुख दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति नजिक पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलका शीर्ष नेतासँग छलफल गरेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट आइतवार नै पारित गर्ने तयारी छ ।

प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा आइतवार दिउँसो छलफल चलिरहेको छ ।नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आजै रातिसम्म बसेर भए पनि विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन पारित गर्न समितिमा प्रस्ताव गरेका छन् । 

 

 

लेखकले छलफलको अन्तिम चरणमा पुगेको विधेयकले सर्वोच्च अदालतको आदेश अनुकूल र पीडितमैत्री रहेको दाबी गरे ।‘अदालतमा विचाराधीन विषय सत्य निरुपण आयोगको क्षेत्राधिकारभित्र नपर्ने अदालतको आदेशको पालना भएको छ । गम्भीर मानव अधिकार उल्लंघनमा क्षमादान नहुने र पीडितको सहमति बेगर मेलमिलाप हुँदैन भन्ने कुरा विधेयकमा समावेश भएको छ’, लेखकले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिको प्रयास स्वरूप प्रधानमन्त्री प्रचण्डले बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

एमालेले विधेयक पीडित मैत्री हुनुपर्ने र गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई माफी दिन नमिल्ने अडान राख्दै आएको छ । यो विधेयक संसद्‌को चालू हिउँदे अधिवेशनबाट पारित गराउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस