विपक्षीले उठाएका मागबारे फागुन २१ गते प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १४ : ५२
विपक्षीले उठाएका मागबारे फागुन २१ गते प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत विपक्षी दलले उठाएका मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन २१ गते संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रवार पत्र लेखेर २१ गतेको बैठकमा सम्बोधनका लागि समय मिलाउन आग्रह गरेको हो ।

 

शुक्रवारको बैठकमा सम्बोधन गर्ने तयारी रहे पनि काठमाडौं बाहिर रहेकाले उपस्थित हुन नसकेको प्रधानमन्त्री कार्यालयको पत्रमा उल्लेख छ ।विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् अवरोधको चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले शुक्रवार आगामी बैठकमा जवाफ दिन पुनः रुलिङ गरेका थिए ।

ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा छानबिन आयोगले दोषी ठहर्‍याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सदन किराँतीको राजीनामा माग्दै एमालेले संसद्‌मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।

दूध किसानको भुक्तानी लगायतका विषयमा सरकारको जवाफ माग गर्दै राप्रपाले समेत संसद अवरोधको चेतावनी दिएको थियो ।सभामुखको रुलिङपछि संसद् सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस