सफल खबर एक्सक्लुसिभ

शत्रुघन सिन्हा सुटुक्क शाश्वतधाममा (फोटोफिचर)

सूर्यप्रकाश कँडेल

बुधबार, २७ भदौ २०७५, १८ : ४३
शत्रुघन सिन्हा सुटुक्क शाश्वतधाममा (फोटोफिचर)

नवलपुर । भारतीय सिनेमा उद्योगका चर्चित कलाकार शत्रुघन सिन्हा बुधबार सुटुक्क नवलपुरको देवचुली नगरपालिका, दुम्कौलीस्थित शाश्वतधाममा सुटुक्क आइपुगे । काठमाडौँबाट हेलीकोप्टरमा सीजी औद्योगिक पार्क दुम्कौलीको हेलीप्याडमा ओर्लिएका सिन्हा गल्फ कारमा चढेर शाश्वतधाम परिसरमा पुगे ।

उनको स्वागतका लागि शाश्वतधाममा एक घण्टादेखि सर्वसाधारण कुरेर बसेका थिए । दुई वटा लाइनमा लामबद्ध सर्वसाधारणको स्वागत देखेर हलिवुडका हस्ती शत्रुघन सिन्हा छक्क परे । उनले दुई हात जोडेर नमस्कार गर्दै सर्वसाधारणलाई अभिभावदन गरेका थिए । बटुकहरुद्वारा मन्त्रोच्चारणसँगै स्वागत गरिएका सिन्हालाई नेपाली ढाकाटोपी लगाएर मन्दिर परिसरमा प्रवेश गराइएको थियो । सर्वसाधारणको स्वागत ग्रहण गर्दै शाश्वतधामको मुख्य आकर्षण एकाम्बरेश्वर शिव मन्दिर प्रवेश गरेका सिन्हाले त्यहाँ पूजापाठ समेत गरे ।

पूजापाठ सकेर फर्कने बेलामा सिमित पत्रकारसँगको सिमित कुराकानीका क्रममा उनले अर्बपति विनोद चौधरी आफ्नो नजिकको मित्र भएको र चौधरीकै निमन्त्रणामा नेपाल आएको जानकारी गराए । ‘शाश्वतधामको बारेमा धेरै सुनेको थिएँ, आज शाश्वतधाम आएर देवभूमि देखेँ’ उनले भने, ‘म मन्त्रमुग्ध भएँ यहाँ आएर, पूजापाठ गराउने पण्डितहरुको मन्त्रोच्चारण स्पष्ट पाएँ । म धेरै मन्दिरहरुमा पूजापाठको लागि पुगेको छु । यस्तो स्पष्ट मन्त्रोच्चारण निकै कम ठाउँमा मात्र पाएको छु ।’


नेपाललाई देवभूमि बताउँदै बलिवुडका भेट्रान्स अभिनेता सिन्हाले नेपालमा पशुपतिनाथ विराजमान भएकोले पशुपतिनाथको आशीर्वाद लिन आफू बेलाबेलामा नेपाल आउने गरेको खुलासा गरे । ‘यसपटक पनि पशुपतिनाथको आशीर्वाद लिएँ’ उनले भने, ‘शाश्वतधाम आउने अवसर पनि मिल्यो । शाश्वतधाम आएपछि पुनः यहाँ आउने इच्छा जागेको छ । म छिट्टै शाश्वतधाममा आउनेछु ।’ अभिनेता सिन्हासँगै चौधरी ग्रुपका वरुण चौधरी पनि शाश्वतधाम आएका थिए । उनीहरु सँगसँगै काठमाडौँ फर्किएका छन् । शाश्वतधाममा बलिवुड अभिनेता सिन्हाको फोटो र सिन्हालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेहरुको भीड लागेको थियो ।


 

प्रतिक्रिया दिनुहोस